बारागढी गाउँपालिकाको विद्यमान अवस्था
बारा जिल्लामा अवस्थित बारागढी गाउँपालिका प्रदेश नं. २ अन्तरगतको मिश्रित विशेषता बोकेको गाउँपालिका हो । साविक सुखी पथरा, भवानीपुर, पिपरा वस्तपुर, खोपवा, विशुनपुर्वा, गढहलका सवै वडाहरु तथा सिहासनीका ३, ४, ५, ६, ७, ८, ९ वडाहरु मिलेर बनेको यो गाउँपालिका ३९.२९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस परिच्छेदमा यहाँको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता र विकासका संभावनाहरुलाई देहाय बमोजिम प्रस्तुत गरिएको छ ।
२.१ भौगोलिक अवस्थिति
बारागढी गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २६डिग्री ५७मिनेट १ सेकेण्ड देखि २७डिग्री १ मिनेट ४४ सेकेण्ड उत्तरी अक्षांश र ८५ डिग्री ५ मिनेट ३४ सेकेण्ड देखि ८५ डिग्री ११ मिनेट २२ सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ ।
यस गाउँपालिका बारा जिल्लाको जिल्ला सदरमुकाम देखि १४ कि.मी. पूर्वमा अवस्थित छ । ६ वटा वडाहरुमा विभाजित यस गाउँपालिकाको पूर्वमा रौतहट जिल्ला, पश्चिममा करैयामाई गाउँपालिका र महागढीमाई नगरपालिका, दक्षिणमा पचरौता नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र उत्तरमा कोल्हवी नगरपालिकासँग सिमाना जोडिएको छ । जिल्लाको कुल क्षेत्रफलको ३.०९ प्रतिशत भुभाग ओगटने यस गाउँपालिकाको कुल क्षेत्रफल ३९.२९ वर्ग कि.मी. रहेको छ । वडा अनुसार गाउँपालिकाको क्षेत्रफल तलको तालिकामा उल्लेख गरिएको छ ।
गाउँपालिकाको वडागत क्षेत्रफल सम्बन्धी विवरण
वडा नं. समावेश भएका गाविस क्षेत्रफल (बर्ग कि.मी.) प्रतिशत
१ पिप्राबसतपुर (९-१) ५५५ १४.१३
२ विसुनपुर्वा (९-१) ७७४ १९.७०
३ खोपुवा (९-१) ६९४ १७.६६
४ पथरा (९-१) ८५० २१.६३
५ सिहासानी (९-३) ७९२ २०.१६
६ गढहाल (९-१) २६४ ६.७२
श्रोतः स्थानीय तह पुनसंरचना आयोग प्रतिवेदन, २०७४
२.२ राजनीतिक तथा ऐतिहासिक चिनारी
नवगठित बारागढी गाउँपालिकाको ऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण क्षेत्र हो । साविक सुखी पथरा, भवानीपुर, पिपरा वस्तपुर, खोपवा, विशुनपुर्वा, गढहलका सवै वडाहरु तथा सिंहसनीको ३ देखि ९ सम्मका वडाहरु मिलाएर बारागढी गाउँपालिका बनेको छ
बारागढी गाउँपालिका प्रदेश नं. २ अन्तरगत बारा जिल्लामा अवस्थित रहेको छ । साविक ७ गाविसहरु मिलेर बनेको यस गाउँपालिकामा ६ वडाहरु रहेका छन् । बारा जिल्लामा विद्यमान २ उप महानगरपालिका, ५ नगरपालिका र ९ गाउँपालिका गरि १६ स्थानीय तह मध्ये बारागढी गाउँपालिका एक हो । गाउँपालिकाको कार्यालय साविकको वडा नं. ३ खोपवामा रहेको छ । जिल्ला भित्रको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि ४ निर्वाचन क्षेत्र मध्ये यो गाउँपालिका प्रतिनिधि सभाको लागि निर्वाचन क्षेत्र १ मा पर्दछ भने प्रदेश सभाको लागि वडा नं २, ३ र ५ निर्वाचन क्षेत्र १ को क र १, ४, र ६ भने निर्वाचन क्षेत्र १ को ख मा पर्दछ ।
२.३ धरातलीय अवस्था
तराईको जिल्ला अन्तरगत रहेको यस क्षेत्रमा धरातलिय स्वरुपका हिसाबले अधिकांश क्षेत्र समथर भूभागले ओगटेको छ । यस गाउँपालिकामा वसोवास योग्य क्षेत्र सहितको उर्वर खेतियोग्य जमिन रहेको छ । सामान्यतयाः यस क्षेत्रमा बलौटे खालको माटो रहेको देखिन्छ । भु–उपयोगको विवरण तलको तालिका अनुसार रहेको छ ।
भू–उपयोगको अवस्था
भूमिको प्रकार क्षेत्रफल (बर्ग कि.मि.) प्रतिशत
खाली जमिन ०.०० ०.०१
खेतीयोग जमिन ३७.९८ ९६.७६
झाडि बन ०.०० ०.०१
घासे भूमि ०.०० ०.०१
बगैचा ०.०१ ०.०३
नदी खोला १.२७ ३.२४
पोखरी ताल ०.०० ०.००१
बगर ०.०२ ०.०४
श्रोतः 1996, नापी विभाग
२.४ साँस्कृतिक उत्कृष्टता
मिश्रित बसोवास रहेको यस गाउँपालिकामा मुख्य बोलिचालिको भाषा भोजपुरी रहेको छ । धार्मिक रुपमा हिन्दु धर्मालम्वीहरुको उच्च बाहुल्यता रहेको यो क्षेत्रमा मनाइने चाडपर्वहरुमा जनैपुर्णिमा, कृष्णजन्मअष्टमी, तिज, जितिया, दशै, तिहार, छठ, माघे संक्रान्ती, फागुपूर्णिमा (होली), चैते दशैं÷राम नवमी, समाचकवा आदि रहेका छन् । धार्मिक तथा भाषिक रुपमा करिव एकरुपता रहेको यो क्षेत्रमा चाडपर्वका समयमा गरिने बिभिन्न क्रियाकलापहरुले यहाँको सामाजिक र साँस्कृतिक उत्कृष्टता झल्काउने गर्दछन् । भेषभुषाका रुपमा पुरुषहरुले मुख्य रुपमा धोति, पेन्ट, कुर्ता, दौरा, सुरुवाल, गम्छा, टोपी तथा कोट र महिलाले सारी, धोती, पेन्ट, कुर्ता सुरुवाल र पटुकी लगाउने गर्दछन् ।
२.५ ग्राहस्र्थ उत्पादन, मानव विकास सूचकांक र गरिवी
नेपाल मानव विकास प्रतिवेदन २०१४ तथा गरिबीको लघु क्षेत्र अनुमान २०६८ मा बाराा जिल्लाको सन्दर्भमा औंल्याइएका तथ्यहरुलाई बारागढी गाउँपालिकाको हकमा पनि सामान्यीकरण गरिएको छ । नेपाल मानव विकास प्रतिवेदन, २०१४ अनुसार बारा जिल्ला मानव विकास सूचकांकका दृष्टिकोणले ७५ जिल्लाहरु मध्ये ४८ औं स्थानमा पर्दछ । यस जिल्लाको मानव विकास सूचकांकको मान ०.४५७ रहेको छ । जसअनुसार औषत आयु ७०.५ वर्ष तथा प्रतिव्यक्ति आम्दानी १४८० अमेरिकी डलर रहेको छ । राष्ट्रिय योजना आयोगको अनुसार यस जिल्लामा २९.१३ प्रतिशत गरिव रहेको देखिन्छ ।